FAQs Complain Problems

नगरपालिकाको संक्षिप्त परिचय

जिरी नगरपालिका बागमती प्रदेश अन्तरगत दोलखा जिल्लाको ९ वटा पालिका मध्येको एक सुन्दर पर्यटकीय नगर हो । समुद्र सहतबाट १६४९ मिटर देखि ५३४१ मिटर सम्मको उचाईमा रहेको यस नगरपालिकाले २११.२५ वर्ग कि.मी. क्षेत्रफल ओगटेको छ । ९ वटा वडा रहेको जिरी नगरपालिका साविकको जिरी, श्यामा, माली र ठुलोपातल गा.वि.स. समेटेर बनेको हो । यस नगरको पूर्वमा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका, दक्षिणमा दोलखाको तामाकोशी गाउँपालिका, पश्चिममा दोलखा जिल्लाकै बैत्यश्वर गाउँपालिका र उत्तरमा गौरिशंकर गाउँपालिका रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिरी नगरपालिकाको कुल जनसंख्या १६,१०९ रहेको छ । जसमा ४८.५ प्रतिशत पूरूष र ५१.५ प्रतिशत महिला रहेको छ । कुल ४२४४ घरपरिवार रहेको यस नगरपालिकाको जनघनत्व ७६ जना प्रति वर्ग कि.मी. रहेको छ । कुल साक्षरता दर ७२.४ प्रतिशत रहेकोमा पुरुष साक्षरता दर ८०.७ प्रतिशत र महिला साक्षरता दर ६४.८ प्रतिशत रहेको छ । जिरी नगरपालिका भित्र कुल जनसंख्याको २.७ प्रतिशत अपाङ्गता भएका व्यक्ति रहेका छन् । जिरी नगरपालिकाको वडागत जनसंख्या विवरण निम्नानुसार रहेको छ ।

वडा नं.

महिला

पुरुष

जम्मा

वडा नं. १

९४७

९३६

१८८३

वडा नं. २

७७१

७४४

१५१५

वडा नं. ३

७७४

६९९

१४७३

वडा नं. ४

८३१

७५४

१५८५

वडा नं. ५

१०८२

९६३

२०४५

वडा नं. ६

१०८६

१०२७

२११३

वडा नं. ७

९३४

८६६

१८००

वडा नं. ८

९२२

८७६

१७९८

वडा नं. ९

९५३

९४४

१८९७

जम्मा

८,३००

७,८०९

१६,१०९

 

जिरी नगरपालिकामा सामुदायिक विद्यालय २८, संस्थागत विद्यालय ३ धार्मिक विद्यालय २ गरी जम्मा ३३ वटा शैक्षिक संस्था रहेका छन् । नगरपालिका भित्र जिरी अस्पताल-१, स्वास्थ्य चौकी-४ वटा र आधारभूत स्वास्थ्य केन्द्र-५ वटा गरी जम्मा १० वटा स्वास्थ्य संस्था रहेका छन् । त्यसैगरी वडा नं. १, वडा नं. ९ र जिरी अस्पतालमा वर्थिङ सेन्टर संचालनमा रहेका छन् ।

 

जिरेल जातिको थातथलो रुपमा रहेको यस नगरपालिकामा ब्राम्हण, क्षेत्री, सुनुवार, शेर्पा, तामाङ, नेवार, दलित लगायतका जातजातीहरूको मुख्य बसोबास रहेको छ ।

 

‘क्लिन जिरी, ग्रीन जिरी, अर्गानीक जिरीको लक्ष्य लिएको यस जिरी नगरपालिका अर्गानिक नगर हो । किवी, आलु, रायोको साग, अकबरे खुर्सानी, याक चिज, छुर्पी नगरको मुख्य कृषि उत्पादन हुन् । नेपालकै उच्च भुभागमा गरिने किवी खेती वडा नं. २ को (यलुङ् क्षेत्रको) र वडा नं. ७ को माथिल्लो सिक्री किवी खेतिको लागि प्रख्यात रहेको छ । नगरमा आउने पर्यटकहरूले यस्ता कृषि उपजलाई खोजी खोजी उपहारको रुपमा लैजाने गरेका छन् । पदमचाल नामक जडिबुटी राखिएको स्थानीय मदिरा, शिल्मा, रिल्दुक (आलुको मौलिक खाना) जिरी आउने पर्यटकको रोजाईमा पर्दछन ।

 

पर्यटकीय नगरी जिरीको सफा, स्वच्छ, मनोमोहक वातावरण, सुन्दर दृश्य, सामाजिक साँस्कृतिक विविधताले यहाँ आउने पर्यटकको लागि छुट्टै आनन्दको अनुभूति गराउँछ । हनुमान्ते, ठुलोनागी, चेर्दुङ्ग, क्याङ्से पोखरी, यलुङ गुम्बा, एसियाकै अग्लो गुरु रिम्पोर्छेको प्रतिमा, हलेश्वर महादेव, जिरेश्वरी महादेव, राम्बोले कालीदेवी मन्दिर, स्टोन पार्क, पाँचपोखरी, जटापोखरी, चीज कारखाना, टोनी हेगन पार्क, तेन्जिङ हिलारी पार्क, बुद्धपार्क, ल्वासा गुम्बा, लौती झरना, रेन्वो ट्राउट फार्म, जातुङ्गा झरना, आविथान मन्दिर आदि, मुख्य पर्यटकीय गन्तव्य हुन् । नेपालकै एक मात्र सरकारी गाई आनुवांसिक श्रोत केन्द्रमा विभिन्न उन्नत जातीका गाई रहेका छन् । यो फार्म पशुपालनको बारेमा अध्ययन गर्न चाहने व्यवसायीहरुको लागि मह्तवपूर्ण रहेको छ । प्राविधिक शिक्षाको लागि चर्चित रहेको जिरी प्राविधिक शिक्षालय समेत विद्यार्थी एवम् शैक्षिक पर्यटकको लागि एउटा अध्ययन अवलोकन गर्ने राम्रो शैक्षिक गन्तव्य रहेको छ । जिरीमा रहेको गुँरासपार्कमा १५ भन्दा बढी प्रजातिका गुराँस एकैपटक फुल्दा त्यहाँको मनोमोहक दुश्यले आन्तरिक तथा वाह्य पर्यटक मग्न बन्ने गर्दछन ।