FAQs Complain Problems

समाचार

नगरपालिकाको संक्षिप्त परिचय

नेपालको मानचित्रमा २७°३३'४८" देखि २७°४६'२६" उत्तरी अक्षांससम्म र ८६°११'१९" देखि ८६°२५'५०"  पूर्वी देशान्तरसम्म फैलिएर रहेको जिरी नगरपालिका प्रदेश नं. ३ अन्तर्गत दोलखा जिल्लाको साविकको श्यामा र जिरी नगरपालिका मिलेर बनेको नगरपालिका हो । समुद्र सतहबाट १६४९ मिटरदेखि ५३४१ मिटरसम्मको उचाइमा अवस्थित रहेको यस नगरपालिकाले कुल २११.२५ वर्ग किलो मिटर क्षेत्रफल ओगटेको छ । नगरपालिकाको पूर्वमा रामेछाप जिल्ला, पश्चिममा बैतेश्वर र गौरीशंकर गाउँपालिका, उत्तरमा गौरीशंकर गाउँपालिका र दक्षिणमा तामाकोशी गाउँपालिका र रामेछाप जिल्ला रहेका छन् ।

 जिरी नेपालको ज्युरिचको रुपमा चिनिन्छ । स्वीजरल्याण्डको ज्युरिचसँग तुलनागरी जिरीलाई नेपालको स्वीजरल्याण्ड उपाधि दिएको छ । यस जिरी नगरपालिका एक पर्यटकिय र व्यापारिक केन्द्रको रुपमा परिचित चारैतिर हरीयाली, सुन्दर झरना तथा ग्रामीण परिवेशले सजिएको पर्यटकीय नगरीको रुपमा सुपरिचित छ । पहिले हवाई यातायातको सुविधा नहुँदा, पर्यटकहरू सगरमाथाको लागि यस स्थानबाट जाने भएकोले यसलाई सगरमाथाको प्रवेशद्वार पनि भनिथ्यो ।

 दोलखा जिल्लामा नयाँ गठन भएका नगरपालिकाहरुमा धेरै सम्भावना बोकेको नगरपालिकाको रुपमा जिरी नगरपालिका रहेको छ । यसका अतिरीक्त सचेत राजनैतिक दल र उत्प्रेरीत नगरवासी समेत यो नगरपालिकाका दीगो विकासको श्रोतका रुपमा रहेका छन् । (२०६८ को जनगणना अनुसार यस नगरपालिकाको जनसंख्या १५,५१५ रहेको छ जसमध्ये महिलाको जनसंख्या ८,३४७ (५३.९७ प्रतिशत) र पुरुषको जनसंख्या ७,१४१ (४६.०३ प्रतिशत) रहेको छ । यस नगरपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षेत्री ४,३६६ जना (२८.१४%), दोस्रोमा जिरेल ३,३६० (२१.६६%) र तेस्रोमा शेर्पा २,७९२ (१८%) रहेका छन् त्यस्तै सबै भन्दा कम २२ जना तराई अन्यहरुको बसोबास रहेको छ । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य श्रोतहरुमा साना व्यापार व्यवसाय, साना उद्योग, सेवामूलक व्यवसाय, नोकरी हुन् । यसको साथै विकल्पमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा क्रमश आधुनिक कृषि प्रणाली र जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ ।

यस नगरपालिका आधारभूत देखि उच्च शिक्षासम्म प्रदान गर्ने सामुदायिक तथा संस्थागत शैक्षिक संस्थाहरु रहेका छन् । नगरपालिकामा पठनपाठनका लागि प्रा.वि सङ्ख्या १९, आधारभुत विद्यालय ३, मा.वि (कक्षा १–१०) सम्मको ५ वटा सामुदायिक र ३ संस्थागत गरी ८ वटा रहेका छन् । त्यस्तै  मा.वि १– १२ तह सञ्चालित २ वटा रहेका छन् । नगरमा १ क्यामपसको साथै, २ वटा धार्मिक विद्यालय, ३ वटा सामुदायिक सिकाई केन्द्रहरु रहेका छन् । अध्ययनका लागि यस नगरपालिकाका स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिका/नगरपालिका समेत आउने गरेका छन् । जिरी नगरपालिकामा रहेको प्राविधिक शिक्षालय शैक्षिक क्षेत्रको आकर्षणको केन्द्र बिन्दु हो । अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस नगरपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, ल्होसार, रामनवमी, होलि, शिवरात्री, कृष्णजन्माष्टमी, रक्षा बन्धन, छठपर्व, विवाह पञ्चमी आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।